सामुहिक रोजगारीका लागि गरिएको प्रयास

अन्त जस्तै नेपालको तराई भेगका महिलाहरू पनि घरायसी काममा व्यस्त हुन्छन् । यसमा धेरै समय र श्रम खर्च हुन्छ तर खासै आथिक लाभ भने हुँदैन भन्ने रटान सुनिने गर्दछ । यो आम समस्या हो । तर आफ्नो घरको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निभाउंने काममा महिलाले पूर्णरूपमा सहकार्य गरेका हुन्छन् । रुढिवादी सामाजिक मूल्य मान्यता, वित्तीय स्रोतमा सीमित पहुँच र सहयोगको कमीले गर्दा महिला श्रम सहभागीता दर सबभन्दा न्यून रहेको छ । सरकारी तथा गैरसरकारी तहबाट महिलाहरूको यी बाधाहरू हटाउन सामाजिक–आर्थिक रूपमा सशक्त बनाउनको लागि विभिन्न कदमहरू चालिएको छ । उनीहरूलाई व्यावसायिक सीपमुलक तालिमको माध्यमबाट खाली समयको उपयोगको लागि उद्यम गर्ने सीप सिकाएर आफ्नो आर्थिक तथा सामाजिक सपनाहरू साकार पार्न सघाउनु सरकारको दायित्व पनि हो । उनीहरूको रोजगारीको हक सुरक्षित गर्नका लागि गरिएका प्रयासहरू मध्ये श्रम बजारको माग अनुरूपको सीप प्रदान गरी रोजगारीमा जोड्न सहजीकरण गर्ने हेतुले समृद्धि आयोजनाको प्रयासहरू यसतर्फ परिलक्षित छन् ।

समृद्धि आयोजना व्यवस्थापन कार्यालय इटहरीसँगको साझेदारीतामा सिराहा जिल्लाको लाहान नगरपालिका–२ मा तालिम तथा रोजगार सेवा प्रदायक संस्था टे«निङ्ग सेन्टर नेपालले हाते कढाइ तालिम कार्यान्वयनमा ल्याएको थियो । महिला मैत्री पेशा भएकाले पनि यो तालिमबाट सीप सिक्ने २० जना नै बेरोजगार महिलाहरू थिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले स्वीकृति गरेको हाते कडाइको पाठ्यक्रम मुताविक दक्ष प्रशिक्षकहरूको सहजीकरणका माध्यमबाट हातेकडाइ गर्नका लागि आवश्यक पर्ने तह–१ को ज्ञानसीप प्रदान गर्ने कार्य भएको थियो । ३९० घण्टा अवधिको तालिमलाई ६५ दिनमा सक्ने गरी व्यवस्थापन मिलाइएको कार्यक्रम गत वर्ष अर्थात् २०७६ जेष्ठ १४ मा शुरु भई २०७६ साउन २९ मा समापन भएको थियो ।

तालिमकै दौरानमा तालिम प्रदायक संस्थाको पहलमा उक्त अर्धदक्ष जनशक्तिहरूलाई एकै ठाउँमा राखेर रोजगारी अगाडि बढाउने सोचाइ बन्यो । यसमा घनीभूत छलफल भयो । उत्पादनहरू बिक्रि गर्न बजारको व्यवस्था, आवश्यक लगानीको व्यवस्थाको जिम्मा मध्यस्थकर्ताले लिए । सुरुमा पायक पर्ने स्थान लाहान बजारमा कोठा भाडामा लिइयो । आवश्यक औजार, कच्चा पदार्थको जोहो गरेपछि २०७६ असोजबाट रोजगारीको काम सञ्चालनमा आयो ।

विषेशगरी नेपाली परिवेशमा हातेकढाइ धेरै लोकप्रिय छ । विभिन्न अवसरमा जस्तै विवाह, पार्टी, ब्रतबन्ध तथा अन्य अवसरमा विभिन्न किसिमका कढाइ गरिएका पहिरनहरू महिलाहरूले प्रयोग गर्ने गर्छन् । शहरी क्षेत्रमा यो धेरै महँगो छ र राम्रो पैसा तिर्छन् । समुदायमा यसको उच्च माग रहेको छ । तालिम तथा रोजगार सेवा प्रदायक संस्थाले तालिमप्राप्त महिला युवाहरूको समूह गठन गरी उनीहरूलाई यो पेशा नछोड्न हौसला दियो ।

सबै तालिमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्ने र दिगो बनाउने इच्छा हुन्छ नै । तालिम तथा रोजगार सेवा प्रदायक संस्थाले उनीहरूको रोजगारीलाई निरन्तरता दिन सहयोग पुगोस् भन्ने हेतुले आफ्नै पहलमा दुईवटा कोठा भाडामा लियो र आठ महिनासम्मको कोठाभाडा अग्रिम भुक्तानी पनि दियो । उत्पादित सबै सामानहरू प्रशिक्षक कुबेर साहले खरिद गर्ने सहमति भयो । ट्«ेनिङ्ग सेन्टर नेपालले व्यावसायिक सीप तालिम र व्यवसायमा दिगोपना र वित्तीय व्यवस्थापन सम्बन्धी हरेकलाई परामर्श दिएको थियो । समुहका सबै सहभागीहरूले दुई दिनको व्यवसाय तथा वित्तीय व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिम पनि पाएका छन् ।

कुवेर साह तालिमका मुख्य प्रशिक्षक हुन् र कढाइ ब्यापारका एक कुशल व्यक्ति पनि हुन् । यस उद्यममा कुबेर साहले डिजाइन गरेको सारी, सल, व्लाउज र कुर्थाको कडाइ गर्ने गरिएको छ । उत्पादक र उपभोक्ता बीचको मध्यस्थकर्ताको रूपमा कुबेरको भूमिका ठूलो रहेको छ । गुणस्तर परीक्षण गर्ने र आवश्यकता परेको खण्डमा सिकाइदिने पनि हुँदा उत्पादनहरू राम्रो नै हुने गरेको छ । कुबेर साह विभिन्न पसल अथवा ठाउँबाट अर्डर लिन्छन् र कढाइ गर्न तालिमेहरूलाई सुम्पिने गर्छन् । माग अनुसार कपडा र सबै आवश्यक कच्चा माल ल्याइदिन्छन् । के काम गर्दा कति ज्याला पाउने भन्ने कुराको पनि निर्धारण गरिएको छ । सबै ग्रेजुएटहरू दैनिक ज्यालामा काम गर्छन् र उत्पादित बस्तुहरू सहमति अनुसार कुबेर साहको हुनाले उनले नै बिक्री वितरण गर्दछन् । सफलतापूर्वक तालिम सम्पन्न गरेका निस्केका १६ जना तालिमे महिलाहरू एकै ठाउँमा रोजगार भएका छन् । उनीहरूले दैनिक चारपाँचसय रुपैयाँ कमाइ गर्न सक्ने भएका छन् । यसबाट उनीहरूको आम्दानीको सुरुवात भएको छ ।

कुवेर साहको मात्र भर पर्दा दिगो रोजगारीमा चुनौति देखा पर्नसक्ने हुँदा आफैंले बजार खोज्ने र आफ्नै घरघरमा हाते कडाइको उत्पादनहरू गरेर बिक्रि गर्ने योजनामा छन् उनीहरू । ग्राहकको माग सङ्कलन गर्ने र आफ्नै घरमा उत्पादन गरेर बिक्री गर्न पनि सकिने प्रकृतिको पेसा हो यो । उनीहरू तयारी बस्तु स्थानीय बजार, उदयपुर, सिन्धुली र काठमाडौंमा समेत विक्री गर्ने सोचमा छन् । यसले निरन्तर रूपमा काम पाउन मद्दत गर्छ र एउटा सानो घरमा आधारित व्यवसायलाई एउटा सफल कढाइ पसलमा बदलिन सक्छ ।

दक्षता अभिबृद्धि गर्ने र फुर्सदको समयको सदुपयोग गर्ने जस्ता सुनौलो अवसर दिएकोमा सबैलाई धन्यवाद दिँदै उनीहरू भन्छन् “घरको काम सकेर र बच्चाहरूलाई स्कूल पठाइ सकेपछि हामी १० बजे केन्द्रमा पुग्छौँ र पाँचबजेसम्म सरले दिएको डिजाइन अनुसार संयुक्त रूपमा विभिन्न साडी, सल, ब्लाउज, कुर्था र अन्य पोशाकमा कढाइ गर्ने काम गर्छौं । हाम्रो लागि यो सन्तोषजनक छ र यस क्षेत्रमा अझ बढी गर्नसक्क्ने अवसर पनि छ ।”

प्रस्तोताः रोशन दर्नाल