आल्मुनियम एक – फाइदा अनेक

प्रदीप कुमार सिंह (३७ वर्ष), सिराहा जिल्ला, गोलबजार नगरपालिका–१३ का बासिन्दा हुन् । उनको परिवारको आर्थिक स्थिति दुर्बल भएको कारण कक्षा १० सम्म मात्र पढ्न पाए उनले । उनी आफ्ना बुवासँगै खेतीपातीको काममा हुने मजदुरीको कार्यमा सलग्न हुने गर्थे । खेतीपातीको कामले घरपरिवार धान्न गाह्रो भएकोले उनी बिदेशतिर लागेका थिए । उनले मलेसियाको कार्टुन फ्याक्ट्रीमा सामान्य लेबरको काम गरे, जसमा श्रम गरे जतिको कमाइ नभएपछि दुईवर्षमा नै आफ्नो देश नेपाल फर्के ।
नेपाल फर्के पश्चात् पुनः खेतीपातीको काम मजदुरीमै संलग्न हुन थाले । यसैबीच उनका साथीले उनलाई फोनमार्फत् तालिमको बारेमा सुनाए । घर नजिकको गोलबजारमा बेरोजगार युवाहरूको लागि समृद्धि आयोजना अन्तरगत व्यावसायिक सीप तालिम खुलेको थियो । यो सुचना उनको लागि निकै नै लाभदायी रह्यो । उनले आल्मुनियम फेब्रिकेटर तालिमका लागि आवेदन फारम भरे, अन्तर्वार्तामा सहभागी भए र तालिमका लागि छनोट पनि भए । आल्मुनियमको झ्यालढोकाको प्रयोग आजकल खुव बढेको छ, काठभन्दा सस्तो, हलुका, किराले नखाने र ढुवानी गर्न सजिलोले पनि भएर होला ।
तालिम लिइसकेपछि उनले आफ्नै व्यवसाय खोले, जसका लागि सहकारी संस्था तथा आफ्ना साथिभाइहरूसँग तीनलाख ऋण लिए र श्रावण २०७६ मा बाबा बिश्वकर्मा आल्मुनियम फेब्रिकेटरको नामबाट व्यवसाय सञ्चालन गरे । पहिलो महिना काम पाउन अलि कठिन भए तापनि हालको समयमा ग्राहकहरू आउने गरेका तथा उनको सीप र कामलाई पूर्णरूपले विश्वास गरेको उनले बताए । फलस्वरूप उनको खुद कमाइ मासिक बीसदेखि पच्चीसहजार हुने गरेको छ । उनले सोही आम्दानीबाट घरपरिवारको खर्च तथा केही ऋण पनि तिरिसकेका छन् । यसरी आपूm सीपयुक्त जनशक्ति भएको र आफ्नो जीवनयापन राम्रोसँग गुजारा गर्न सक्षम भएकोमा उनी समृद्धि आयोजना तथा तथा तालिम प्रदायक संस्था ट्रेड लिङ्क टेक्निकल ट्रेनिङ्ग इस्टिच्यूटप्रति आभार प्रकट गर्न चाहन्छन् ।
प्रस्तोताः पुनम यादव