ब्युटिपार्लरले फेरिएको प्रभाको दिनचर्या

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा–१० की प्रभा श्रेष्ठ कुनै बेला बेरोजगारको पीडा भोगिरहेकी थिइन् । उनको संयुक्त परिवारमा कुल १० जनाको सदस्यहरू रहेका छन् । उनले आफ्नो परिवारको आर्थिक स्थिति सबल गर्नका निम्ति केही काम गर्नै पर्ने थियो । ११ कक्षासम्म पढेकी उनी श्रृङ्गारको काम गर्न बढी रुचि राख्थिन् । साधारण शिक्षाको पढाइले खासै काम पाउने सम्भावना पनि थिएन । अन्य व्यापार व्यवसाय गर्न पनि खासै अवसर देखिनन् उनले । २०७६ साल बैशाख महिनातिरको कुरा हो । सहायक ब्युटिसियनको निःशुल्क तालिमको अवसर आयो गाउँमा । यो कुरा उनले स्थानीय एफएमले प्रशारण गरेको सूचनाबाट थाहा पाइन् । यो अवसरको व्यवस्था मिलाएको थियो क्रियटिभ स्किल्स संस्था मार्फत् समृद्धि आयोजनाले । तालिमको सम्पूर्ण प्रक्रिया पूरा गरेपछि उनी तालिमका लागि छनोट भइन् । उनले नजिकैको लाहान बजारमा सञ्चालित ३९० घण्टा अवधिको तालिमबाट उनले सहायक ब्युटिसियनको सीप सिकिन् ।

आफ्नै व्यवसाय कसरी शुरु गर्ने होला भन्ने साधारण जानकारी पनि त्यस तालिमबाटै पाइन् । तालिम सम्पन्न भएपछि व्यवसाय स्थापनाका लागि परिवारमा छलफल गरिन् । उनको प्रस्तावमा परिवारका सबै जना सहमत भए । आवश्यक लगानी जुटाउने र स्थानको व्यवस्था गर्ने कार्यमा उनलाई परिवारको राम्रो सहयोग प्राप्त भयो । लगानीका लागि सरसापटी गर्ने र सहकारीबाट ऋण लिने काम भयो । फलस्वरूप २०७६ भाद्र २ गते उनले आफ्नै ब्युटिपार्लरको सेवा बिक्री गर्न सुरु गरिन् । यो उनको लागि निकै खुशीको दिन थियो उनी सम्झन्छिन् । उनी आजकाल आफ्नो ब्यवसायमा निकै नै व्यस्त देखिन्छन् । बिगत आठ महिनाको अनुभवले उनको व्यवसाय गर्ने कौशलतामा एकदमै परिवर्तन र सुधार भएको उनका ग्राहकहरू पनि बताउँछन् । ब्युटिपार्लर सम्बन्धी आएका नयाँ प्रविधि तथा तरिकाहरूका बारेमा जानकारी लिन विभिन्न कार्यशाला तथा गोष्ठीमा सहभागी हुने गर्दछिन् । हाल उनले ब्युटिपार्लरले यस सम्बन्धी सम्पुर्ण सेवाहरू प्रदान गरीरहेको साथै ब्युटीपार्लर सम्बन्धी सीप सिक्न चाहने महिलाहरूलाई प्रशिक्षण पनि दिने गर्दछिन् । अहिले उनले मासिक कमाइ राम्रो छ । हाल उनले ब्युटिपार्लरकै कमाईबाट ऋण पनि चुक्ता गरिसकेको र केही रकम सहकारी संस्थामा बचत समेत गरेकी छिन् । यसरी उनले आफ्नो सोच साकार भएकोले गर्दा र आफ्नो घरपरिवारलाई आर्थिक रूपमा सहयोग गर्न सक्ने भएकोमा उनी निकै नै प्रोत्साहित भएकी छिन् । उनी भन्छिन्– “ब्युटिपार्लरले मेरो दिनचर्या फेरिएको छ आजकल ।”

प्रस्तोताः पुनम यादव