ग्राहक कुरेर बस्नु परेको छैन, घरब्यवहार राम्ररी चलेको छ

छजनाको परिवार, आमदानीको नाममा एउटा सानो होटल जो कोहीलाई पनि धान्न गाह्रो हुने नै भयो । त्यसमाथि पनि तीनजना वालवालिकाहरूको पढाइ खर्च यस्तो महँगाइको समयमा । होटल कहिले ठीकै चल्थ्यो त कहिले सातासम्म ग्राहकहरूको आगमन कुर्नुपर्ने बाध्यता थियो । कसरी आम्दानी बढाउने होला सधैँ उनलाई चिन्ता । गर्ने पनि के ? इच्छा त सिलाइ व्यवसाय गर्ने नै थियो । यो सपना हो सप्तकाेशी गाउँपालिका फत्तेपुर निवासी वर्ष ३५ की सुष्मा श्रेष्ठको । सिलाइ सिक्ने प्रयास नगरेकी पनि होइनन् उनले । केहीदिन पहिले सप्तकोशी गाउँपालिकाले निःशुल्क सिलाइ कटाइको तालिमको अवसर ल्यायो । उनले पनि फारम भरिन् तर छनोट हुन सकिनन् । यो कुरा उनले छिमेकी र आफन्तहरूलाई पनि सुनाएकी थिइन् ।
एक दिन नजिकको एक जना दाइले निशुल्क सिलाइकटाइ सम्बन्धी विज्ञापनको आएको खबर सुनाए । यो अवसर उनकै लागि हो जस्तो लाग्यो । नगरपालिकामा आवेदन फारम वितरण गरेको रहेछ, भरिन् । पञ्चकन्या तामिम केन्द्र मार्फत् समृद्धि आयोजनाले यस्तो तालिम दिंदैरहेछ । नभन्दै अन्तरवार्तामा सफल भएर ६५ दिन अवधिको सिलाइ तालिममा २०७६ भदौ २ गतेबाट तालिममा सहभागी भइन् ।
“तालिममा राम्रोसँग अभ्यास गर्न पायका कारण छिटो सिक्न सकें” उनी सुनाउँछिन् । नभन्दै तालिम समापन हुने समयसम्म उनले सिलाइ व्यवसायको तयारी पनि गर्दै गइन् । तालिम सकिएपछि होटल हटाएर सिलाइको पसल शुरु गरिन् । घरखर्च चलाउन सजिलो भएको छ । उनले सहकारी संस्थाबाट १०% व्याज दरमा तीसहजार ऋण लिई सञ्चालन गरेको रहिछन् । ठाउँ मिल्यो र तरिका जान्यो भने सिलाइबाट राम्रै कमाइ हुनेरहेछ, उनको हाँसोे बोलिरहेको थियो । यही आम्दानीबाट एउटा छोरा काठमाडौँमा कलेज पढ्छ । एउटा छोरा र एउटी छोरीलाई गााउँकै राम्रो स्कुलमा पढाइरहेकी छिन् । यही तालिमको कारणले अहिले उनको मनोबल बढेको बताउछिन् भने आफूलाई स्वाभिमानी भन्न रुचाउँछिन् । सुष्मा भन्छिन्– अहिले मलाई ग्राहक कुरेर बस्नु परेको छैन र घरव्यवहार पनि राम्रोसँग चलेको छ ।
प्रस्तोताः शुशील कुमार यादव