तालिमले मेरो मनोबल बढाउनुको साथै स्वभिमानी पनि बनाएको छ

जीतपुर सिमराका नसिमा खातुनको ९÷१० जनाको परिवार थियो । केही कठ्ठा खेतीयोग्य जमीन, घर परिवार धान्न सजिलो थिएन । खान लाउन त धेरथोर पुगेकै थियो तर अहिलेको समयमा बालबच्चाहरूलाई नपढाइ भएन । नसिमा खातुनको श्रीमान् पैसा कमाउन जीतपुर सिमरास्थित एउटा कारखानामा काम गर्न आउँछन् र धेरथोर घरमा आर्थिक सहयोग पनि गर्छन् । घरबाट सँधै आउजाउ गर्न गाह्रो हुने भएकोले यतैतिर कोठा भाडा लिएर बस्छन् र बिस्तारै सब ठीक होला भने आश गरेको हुन्छ । तर सोंचेको कहाँ हुन्छ र ? केही दिनमै कारखानको जागिर गएपछि फेरि उही गरीबी अबस्था । श्रीमान् फेरि राँगा किनबेच गर्ने व्यापार शुरु गर्छन् । यसमा कहिले आम्दानी हुने कहिले रित्तो हात बस्नु पर्ने, तर घर व्यवहारको खर्च भने निरन्तर भइरहने ।
नसिमा एक दिन चिनजानको दिदीको घरमा कुनै काम विशेषले जान्छिन् र सिलाइकटाइ तालिमको बारेमा थाहा पाउँछिन् । महिला मैत्री तालिम पनि भएको, आफ्नो पहिलादेखि नै इच्छा हुँदाहुँदै पनि आर्थिक कारणले लिन नसकेको अनि निःशुल्क तालिमको अवसर सुनेपछि नसिमामा खुशीको सीमा रहेन । एकदम खुशीकासाथ घरपरिवारमा तालिमबारे छलफल गर्छिन्, तर मनमा अलिअलि शंका पनि राख्छिन् कि छनौटमा पर्छु कि पर्दिन । तालिमको फारम भर्छिन् र अन्तरवार्ताबाट छनौट पनि हुन्छिन् । सजिलै घुलमिल हुजे स्वभावकी नसिमा तालिम कै क्रममा दुई सहप्रशिक्षार्थीसँग अलिक बढी नजिकिन्छिन् । उनीहरूले भविष्यमा आफ्नै सिलाइकटाइको पसल खोल्ने सम्मको सपना बुन्छिन् । यसरी नै साथिहरूसँगै नसिमा पनि २०७६ जेष्ठ १९ देखि साउन ५ गते सम्म ६५ दिने तालिम पूरा गर्छिन् ।
एक त निःशुल्क तालिम र त्यसमा सिलाइ गर्ने मेसिन पनि निःशुल्क पाएपछि सुनमा सुगन्ध हुने नै भयो । तालिमकै क्रममा तीनैजनाले बुनेका आफ्नै सिलाइकटाइको पसल खोल्ने सपना तालिम सकेलगतै शुरु गर्न तम्सिन्छन् तीनै जना साथिहरू– नसिमा खातुन, ऋतु लामा र सम्झना श्रेष्ठ । सबैले आ–आफ्नो क्षमता अनुसार लगानी गर्छन् र ऋतु लामाको घरमै सिलाइ कटाइको पसल खोल्छन् । पसलमा लगभग २५००० जतिको लगानी रहेको बताउछिन् नसिमा । गाउँबाट बजार छिर्ने सहायक रोडको मुखमै पसल भएपछि ग्राहक कुर्नु परेन । पसल खोलेकै दिनदेखि ग्राहक आउन थाल्छन् र यसरी आफ्नै पसल खोलेर तीनैजनाले काम शुरु गर्छन् । सँधै सबैजना नियमित आउने र ग्राहकलाई समयमा सेवा दिने भएको हुनाले अहिले ग्राहकको कमी नभएको नसिमा बताउँछिन् ।
अहिले सो पसलबाट महिनाको तीसपैँतीसहजार रूपैँया खुद आम्दानी हुने गरेको छ भने प्रति व्यक्ति लगभग एघारबाह्रहजार हुने गरेको छ । अलिअलि खाद्यान्न घरबाट आउने बाहेक, यही आम्दानीबाट अहिले नसिमा आफ्ना पाँचजना बच्चाबच्चीको लालनपालन गरिरहेकी छिन् भने सोही आम्दानीबाट ४ जना बच्चाहरूलाई निजी विद्यालयमा पढाउन पनि सफल भएकी छिन् । तालिम अगाडि श्रीमानको सीमित आम्दानीले घरपरिवार धान्न साह्रोगाह्रो भोगेको श्रीमान पनि अहिले श्रीमतीको आम्दानीबाट एकदम खुशी छन् । पाँचकक्षा मात्र पढेकी नसिमा भन्छिन् “यो तालिमले मेरो मनोबल बढाएको छ भने स्वभिमानी पनि बनाएको छ । अहिले आफ्नो घरको गर्जो मात्र होइन कि व्यक्तिगत खर्च पनि यही पेशाले धानेको छु । यो तालिमले पैसा कमाउन सीप मात्र सिकाएन, समुदायमा घुलमिल हुन पनि सिकाएको छ ।”
प्रस्तोताः शुशील कुमार यादव