उच्चशिक्षा अध्ययन गर्ने भोक यही व्यवसाय मेटाउनेछ

स्थानीय एफएम रेडियोले प्रशारण गरेको तालिम सम्बन्धी सूचनाले १२ कक्षा पढेकी कलैया उप–महानगर पालिका–४, अदालत टोल निवासी अनामिका गुप्ता (वर्ष १९) को जीवनले फरक मोड लियो । खास के थियो त्यो सूचनामा जस्ले बेरोजगार अनामिकालाई उद्यमी नै बन्ने बाटो देखायो ?

कुरा बैशाख महिनाको हो । गाउँमै सहायक ब्युटिसियनको निःशुल्क तालिम खुलेको थियो । यो अवसर जुटाएको थियो ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा स्थानीय एक तालिम तथा रोजगार सेवा प्रदायक संस्था उद्यम विकास परामर्श तथा तालिम केन्द्र प्रा.लि. कलैयाले ।

उनले गत १२ बैशाख देखि १४ साउन २०७६ सम्म कलैयामा सञ्चालन भएको ३९० घण्टा अवधिको सहायक ब्युटिसियन तालिम सफलतापूर्वक पुरा गरिन् र सीप परीक्षणमा समेत सहभागी भइन् । यस बीचमा उनीमा आफ्नै व्यवसाय गर्ने सोच बनिसकेको थियो तर त्यसका लागि लगानी कसरी जुटाउने भन्ने चिन्ता पनि सँगसँगै थियो । गत भदौ महिनामा सरसापट आदि गरेर जुटाइन् नौहजर रुपैयाँ र त्यसबाटै शुरु गरिन् कलैयामै अमृता ब्युटिपार्लर नामक व्यवसाय । यो सेवामूलक व्यवसाय भएकाले खासमा सीप र श्रम बिक्री गर्ने हो । यो उनको शुरुवाती अवस्था हो । अहिलेको कमाइबाट उनी सन्तुष्ट छिन् । यही कमाइले उनले आफ्नो खर्च धानेको छ र घरखर्चमा पनि भरथेग गर्न सकेकी छन् । एनआइसी एसिया बैकमा खाता खोली सानोतिनो बचत पनि शुरु गरेकी छिन् उनले । “तर यत्तिले मात्र कहाँ हुन्छ र बढाउँदैछु व्यवसाय” उनी खुलेर बताउछिन् । यति मात्र हैन उनलाई उच्चशिक्षा अध्ययन गर्ने भोक पनि जागेको छ । यसका लागि पार्लरबाट आएको आम्दानीले साथ दिनेमा उनी विस्वस्त छिन् ।

प्रस्तोताः सुशिल कुमार यादव