लकडाउन नहुँदो हो त राम्रै कमाइ गरिन्थ्यो

एसएलसी गरेपछि पढाइ छाड्नु प¥यो । हुन त पढ्ने मन थियो नै । आर्थिक अवस्था कमजोर हुँदा पढ्ने खर्च जुट्न सकेन । पढेर पनि के नै काम पाइन्छ र पढेका गाउँका केटाहरु पनि बेरोजगार नै छन् । केही पेशा गरुँ त हातमा सीप छैन । कहाँ गएर सिक्ने, के सिक्ने त्यो पनि थाहा छैन । सीप सिक्न पनि त खर्च चाहियो । गाउँको बसोवास सीप सिक्ने ठाउँ पनि छैन । कता जाउँ के गरुँ । मनमा कुराहरु खेलिरहन्थे । एक मन त विदेश जाउँ भन्ने पनि लागेको थियो त्यसका लागि पनि धेरै खर्च गर्नुपर्ने । बाध्य भएर कृषि पेशामा मजदुरी गर्नुप¥यो । त्यो पनि सधैंभरी काम पाउन कठिन । यो भनाइ थियो महागडिमाइ२ बाराका दिपक कुमार यादब (वर्ष २१) को । गाउँमै तालिम हुन्छ भन्ने त सोचेकै थिएनन् उनले ।

२०७६ जेठ तिरको कुरा हो । गाउँमै विधुत जडान गर्ने तालिम हुने भन्ने हल्ला चल्यो । गाउँका केटाहरुसँगै नगरपालिका गएर आवेदन दिएँ । अन्तरवार्तामा बोलायो र गएँ । तालिममा पनि छनोट भएँ । ३ महिना विधुत जडानको तालिम सिकें । सीपको जाँच पनि दिएँ । तालिम हेर्नका लागि अफिसबाट अधिकृतहरु आउने गर्नुहुन्थ्यो । क्रियटिभ स्किल्स भन्ने संस्था हो तालिम दिने संस्थाको नाम त ।

भदौमा तालिम सकियो । असोजमा गाउँमै नरेश यादवले लिएको ठेक्काबाट काम शुरु गरेँ । रोजको रु ६०० हाजिरी दियो । धेरै समय त काम पाइएन । कार्तिक मंसिरमा खेतिपातिको समय भएकाले गाउँमा खासै निर्माणको काम भएन । पौष महिनाबाट केही काम पाइन थाल्यो । फाल्गुनसम्म आउँदा त महिनैभरी काम पाइन थाल्यो । यसले आशा जगायो । कमाइ बढ्दै गएको देखेर सीप सिकेर ठीकै गरियो भन्ने पनि लाग्यो । चैत्र लागेपछि भने लकडाउन चल्यो गाउँमा पनि काम रोकियो । विदेशबाट आउनेले भाइरस ल्याउँछन् भनेर गाउँमा पनि कडाइ गर्न थाले । ढुवानी नहुँदा रोडाबालुवा पाइएन अनि घर बन्ने काम पनि रोकियो । पुराना घरमा मर्मत गरेर अलिअलि भए पनि कमाइ हुन्छ । वरिपरि गाउँका २० जनाले सिकेका छौं । मैले चिनेका ५६ जनाले त काम गरेको मलाई थाहा छ । अरु के गर्दै छन् थाहा छैन । लकडाउन नहुँदो हो त राम्रै कमाइ गरिन्थ्यो । वर्षात् लागेपछि तराइमा खासै घर बनाउन मिल्दैन । सधैं यस्तो त हुँदैन होला नि । ज्यालामा काम गर्ने भन्दा पनि लकडाउन खुलेपछि साथीहरुसँग मिलेर विधुत जडानको ठेक्का लिने सोचिरहेको छु । सीप प्रमाण पत्र अफिसमा ल्याएर राखेको छ रे । लकडाउन खुलेपछि दिने भनेका छन् । सीप सिक्न पाएकोमा खुशी छु ।

(यो ग्य्राजुयट दिपक कुमार यादव र अनुगमनकर्ता प्रतिमा गुरुङ्गबीच भएको कुराकानीको सम्पादित अंश हो । निज यादवसँग २०७७ जेठ १४ गते इमो मार्फत कुराकानी भएको थियो भने थप जानकारीको लागि १५ गते टेलिफोन सम्वाद भएको थियो ।)

प्रस्तोताः खुल बहादुर थापा