एउटा सानो पाइलाले जीवनमा खुशियाली ल्याउँछ

बबिता कुमारी चौधरी (वर्ष ३६) हाल दुई छोराका साथ उदयपुर जिल्ला वेलका गा. पा. वडा नं. २ नयाँ टोलमा बस्छिन् । श्रीमानको नियमित रोजगारी नभएकोले घरायसी काम गर्छन् र धेरैजसो समय फुर्सदिला हुन्छन् । उनको सम्पूर्ण परिवार खेतीपाती र कृषि मजदुरीको आम्दानीमा निर्भर थियो तर यो आम्दानीले परिवारलाई गुजारा चलाउन प्रर्याप्त थिएन । बबिता रोजगारीको खोजीमा थिइन् तर उनीसँग त्यस्तो कुनै रोजगारी गर्ने सीप भने थिएन । बालबच्चाको लालनपालन, पढाइ र परिवारको खर्च जुटाउन ज्यालामजदुरी गर्नैपर्ने बाध्यता थियो । गतिलो आम्दानीको स्रोतको खोजीमा थिइन् उनी । गत २०७५ साल बैशाख तिरको कुरा हो, एक स्थानीय एफ.एम. रेडियोबाट प्रसारण भएको विज्ञापनले उनलाई सिलाइ उद्यमीको यात्रामा अग्रसर गराउँदछ । विज्ञापन सुनेको आधारमा उनले सिलाइकटाइको काम (सीप) सिक्ने निर्णय लिइन् । उनले नियमानुसार आवेदन फाराम भरेर आफ्नो नाम दर्ता गराइन् र अन्तर्वार्तामा पनि भाग लिइन् । छनौट प्रक्रियाबाट उनी सफल भइन् र तालिममा सहभागी भइन् । उनीलाई यो अवसर जुटाइ दिएको थियो हेल्भेटास नेपालको प्राविधिक सहयोगमा पञ्चकन्या ट्रेनिङ्ग इन्ष्टिच्युट मार्फत् ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाले सप्तरी जिल्लाको फत्तेपुरमा सञ्चालन गरेको ३ महिने (३९० घण्टा) सिलाइकटाइ तालिमले ।

उनले नियमित रूपमा सहभागी भई तालिम पुरा गरिन् र सीप परीक्षामा पनि सहभागी भइन् । तालिम पुरा गरेर शुरुमा उनले केही रकम जम्मा गरी २ वटा सेकेण्ड ह्याण्ड सिलाइ मेशीन खरीद गरेर घर नजिकैको एउटा चोकमा कपडा सिलाइको काम शुरु गरिन् । उनको सेवा लिन विस्तारै ग्राहकहरू बढ्दै थिए । ग्राहकहरू उनको कामबाट सन्तुष्ट थिए । यसले उनलाई सिलाइ उद्यम सञ्चालन गरिरहन र बचेको समयमा गृहिणीहरूलाई सिकाउन हौसला मिल्यो । उनको मनमा आफ्नै टोलको मात्र कपडा सिलाइ गरेर आम्दानी बढाउन सकिन्न भन्ने लाग्यो ।

उद्यमबाट आम्दानी बढाउनका लागि दिनदिनै ग्राहकहरूको संख्या बढदै जानुपर्दछ । त्यसका लागि ग्राहकहरूलाई पायक पर्ने धेरै ग्राहककरुको भीडभाड हुने स्थानमा सिलाइ पसल राख्नुपर्ने कुरा उनले व्यवसायिक सीपको तालिमबाट सिकेकी थिइन् । त्यसैले उनले फत्तेपुरको पुरनधारा बजार नजिकै आफ्नो सिलाइ पसल खोल्ने योजना बनाइन् ।स्थानीय महिलाहरू तालिमको लागि पनि उनको पसलमा आउन थाले । आजभोलि उनको राम्रो आम्दानी हुन थालेको छ । यसैबाट घरखर्च पनि चलेको छ । उनी खुशी छिन् । यो सबै सीप सिकेको कारण सम्भव भयो उनी बताउँछिन् ।

हाल उनी एउटा सानो नै भए पनि सिलाइ पसलको मालिक बनेकी छिन् । उनले जे सोचेकी थिइन् त्यो प्राप्त गरिन् र यसले उनको जीवनमा खुशियाली ल्याएको छ । यो उनका लागि महान् काम हो । आजभोलि उनी गाउँका अरू बेरोजगार युवा महिलालाई रोजगारमूलक सीप सिक्नका लागि प्रोत्साहित गर्छिन् ता कि उनीहरू पनि आत्मनिर्भर बन्न सकून् । भरपर्दो आम्दानी गर्न केही गर्ने सोचाइ बोकेका युवाहरूका लागि गाउँमै अवसरहरू उपलव्ध छन् । तर आफूमा जाँगर चाहिँ हुनुप¥यो बविता बताउँछिन् ।

हाल उनले सिलाउने भनेको सामान्य डिजाइनका कपडाहरू मात्र हुन् । आफ्नो सिलाइ पसलबाट हुने आम्दानीलाई अझ बढाउने र स्थानीय युवाहरूलाई रोजगारी दिने उनको सपना छ । यसका लागि थप लगानी र परिस्कृत सीपको खाँचो छ । त्यस्तो अवसरको खोजीमा छिन् उनी ।

प्रस्तोताः रोशन दर्नाल