Success Story: बेल्चा समाउन नजान्ने हातले रेञ्चु चलाउन थालेँ कसो कमाइ नहोला त

बागमती, सर्लाहीका हस्त बहादुर अधिकारी (वर्ष ४२) कुवेतमा छ बर्ष कार्यालय सहयोगीको रूपमा काम गरी २०७४ सालमा नेपाल फर्केका थिए । यसअघि उनी सर्लाहीमा खेतीपातीको काममा मजदुरी गर्थे । नेपाल फर्केपछि पनि न त खेतीपातीको आम्दानीले घरव्यवहार धान्न सजिलो थियो न कुनै काम गर्न सीप नै थियो । उनलाई घरपरिवार र बालबच्चाको पढाइ खर्च कसरी धान्ने भन्ने चिन्ताल फेरि विदेशीने सोचाइ बनाए । तर यो पटक विदेश जान त्यति सजिलो कहाँ थियो र ? काठमाण्डौका म्यानपावर कम्पनीले कुनै सीप बिना विदेश पठाउन नमानेपछि यो प्रयास उनका लागि हिस्स बूढा खिस्स दाँत भन्ने उखान झैँ भयो ।

२०७६ बैशाखको अन्तिम सातातिरको कुरा हो । उनी चौतारीको शीतल छायाँमा बसिरहेको बेला गाउँकै राजकुमार भन्ने साथीले गाउँघरमै जुनियर प्लम्बर तह१ कोे निशुल्क तालिम खुलेको र त्यसमा सहभागी हुन आवेदन दिन जान लागेको कुरा सुनायो । हस्त बहादुरलाई यो कुरा ढुँगा खोज्दा द्यौता मिले झैँ भयो अनि लागे उसकै पछिपछि । दुबैसँगै वडा कार्यालयमा पुगे र आवेदन फाराम भरे । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा वल्र्ड वाइड टेक्निकल प्रा.लि.ले गाउँमै यो अबसर जुटाएको थियो ।

शुरुमा तालिम नै नहुने हो कि भन्ने शंका थियो । प्लम्वरको पनि तालिम हुन्छ र भन्थे मानिसहरू । उनले गाउँका अरू युवाहरूलाई पनि तालिममा सहभागी हुन हौस्याए । अन्तरवार्तामा पनि उनी सफल भए । ४० वर्ष कटेका उनलाई अर्को डर थियो । उमेर हदका कारण तालिम लिन नपाइने हो कि भन्ने । तर उनको इच्छाशक्ति र दृढतालाई उमेर हदले रोक्न सकेन । आवश्यक तयारी र प्रक्रिया पूरा भएपछि गाउँकै एक सामुदायिक भवनमा २०७६ जेष्ठ १२ गतेबाट जुनिएर प्लम्बर तह१ को ६५ दिने तालिम शुरु भयो ।

बैदेशिक रोजगारीको क्रममा विभिन्न हण्डर खाएका हस्त बहादुरले खुव लगावका साथ सीप सिके । ६५ दिन तालिममा बितेको उनलाई पत्तै भएन । मुख्य प्रशिक्षक र सहप्रशिक्षकले सिकाइमा कुनै कमी हुन दिएनन् । चाहे कक्षा कोठामा हुने सैद्धान्तिक कक्षा होस् वा वर्कसपमा हुने प्रयोगात्मक कक्षा होस्, उनले खुब मेहनतका साथ सीप सिके । वास्तविक कार्यस्थलमा समेत प्रयोगात्मक काम (ओजेटी) गरेर झन् बढी सिक्ने अवसर पाएका थिए उनले । यसले ग्राहकको प्रतिक्रिया र सन्तुष्टि बुझ्न पाइएको थियो । सीप सिक्न गाह्रो रहेनछ । सिक्दा कुनै शुल्क तिर्नु नपरेको र खाजाको समेत व्यवस्था आयोजकले नै गरेकोले आफ्नो खर्च नभएको उनी बताउँछन् । उनी सीप परीक्षणमा पनि सहभागी भए र परीक्षा पनि राम्रै भयो । तैपनि २० जनाले शुरु गरेकोमा १६ जनाले मात्र तालिम पूरा गर्न सके ।

वैदेशिक रोजगारीमा दुःख पाएको मान्छे म । मलाई परिश्रम गर्न कुनै अप्ठ्यारो लाग्दैन । त्यसमा पनि परिवारसँग रहेर उनी एकै स्वासमा बताउँछन् । तालिमपछि शुरुमा उनले गाउँकै एक व्यक्तिको व्यावसायिक कुखुरा फर्ममा पानीधारा र शौचालय जोडेर मनग्गे आम्दानी गरे । अहिले घरहरूमा धारापानी जोड्ने काम गरिरहेका छन् । उनलाई दैनिक पाँचसय रुपैयाँ कमाइ गर्न कुनै समस्या छैन । कहिलेकाँही त सँगै तालिम लिएका ३÷४ जना साथीहरूलाई समेत सँगै काममा लैजाने गर्दछन् उनी ।

यस अवधिमा काममा आउने समस्या समाधानका लागि निरन्तर प्रशिक्षक धनसिँह राजीसँग सम्र्पक हुने गर्दथ्यो । प्रशिक्षकसँगै काम गर्न उनी सुर्खेत पनि गए र सँगै काम गर्न थाले । सुर्खेतमा प्रशिक्षकको निगरानीमा काम गर्दा कमाइ पनि बढेर दैनिक नौसय रुपैयाँ हुन थाल्यो । उनी काम गर्दै चारमहिनाको अवधिमा आफ्नो सीप निखार्न पाएको र राम्रो कमाइ गर्न सकेकोमा ज्यादै खुशी छन् । बेल्चा समाउन नजान्ने हातले रेञ्चु चलाउन थालेँ, कसो कमाइ नहोला त ? उनी निर्धक्कसँग भन्छन् ।

प्रस्तोताः प्रतिमा गुरुङ्ग